पैसा लिएर सिमा वार-पार गराउने एक पक्राउ, थप चार जनाको खोजि हुँदै

Posted on: 21 Apr, 2020

वैशाख ९, बाँके | बाँकेको नेपाल–भारत सीमावर्ती क्षेत्रमा अलपत्र यात्रुसँग रकम लिई लुकीछिपी आवागमन गराउने एक जना पक्राउ परेका छन् ।  मुख्य नाका बन्द भएपछि ग्रामीण क्षेत्रमा रहेका छोटी नाकाबाट साइकलमा राखेर अलपत्र भारतीयसँग रु पाँच सय लिएर भारत पुर्याउने र फर्किँदा नेपाल आउने नागरिकलाई लुकिछिपी आवागमन गराउने समूहका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा जारी बन्दाबन्दीका कारण नाका बन्द भएका बेलामा नाकामा अलपत्र  व्यक्तिलाई लक्ष्य गरेर पाँच जनाले यस्तो धन्दा गरेको खुलेको छ । त्यसमध्ये एक जनालाई पक्राउ गरिएको हो ।

ती व्यक्तिले नेपालबाट तीन जनालाई भारत पुर्याएको खुलेको छ । चार  मुख्य व्यक्ति फरार रहेकाले धेरै जानकारी हुन नसकेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । प्रहरीले अन्य चार जनाको खोजी गरिरहेको छ । सीमा क्षेत्रमा नागरिक लुकिछिपी आवतजावत भएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न र भारतीय सीमाबाट हुन सक्ने आवतजावत निस्तेज  पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौज परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!