बाँकेमा थुनुवाको कोरोना परीक्षण

Posted on: 21 Apr, 2020

वैशाख ९, बाँके | जिल्ला प्रहरी कार्यालय बाँकेको  हिरासतमा रहेका थुनुवाको कोरोना संक्रमण जाँच शुरु गरिएको छ । थुनुवालाई अदालतमा पेश गर्दा अनिवार्य कोरोना परीक्षण रिपोर्ट संलग्न हुनुुपर्ने अदालतको आदेशानुसार आरडिटीमार्फत कोरोना संक्रमण जाँच गरिएको हो ।

हिरासतमा रहेका नौ थुनुवाको ‘आरडिटी’ जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । थुनुवासँगै गएका एक प्रहरीको समेत ‘आरडिटी’ जाँचमा  रिपोर्ट नेगेटिभ देखिएको मुद्दा फाँट इञ्चार्ज प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिनुभयो । प्रहरीको हिरासतमा रहेका थुनुवाको थुनछेक बहसअघि ‘आरडिटी’ जाँच गर्न शुरु गरिएको उहाँले बताउनुभयो ।

गम्भीर प्रकृतिका अपराधका २९  थुनुवाको थुनछेक बहसअघि ‘आरडिटी’ गर्नुपर्ने भए पनि किटको अभावमा पहिलो पटक नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको पहलमा नौ जनालाई मात्र जाँच गरिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । 

प्रहरीले सामान्य मुद्दाका थुनुवालाई हाजिरी जमानीमा छाडिसकेको छ । अहिले हिरासतमा गम्भीर अपराधका थुनुवा मात्रै छन् । स्वास्थ्य कार्यालयसँग आरडिटी किट माग गर्दा क्वारेन्टाइनमा बसेकालाई मात्र भन्ने निर्देशन भएकाले किट उपलब्ध गराउन नसकिएको प्रहरी निरीक्षक सापकोटाले राससलाई बताउनुभयो । 

 स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले क्वारेन्टाइनमा राखिएकालाई मात्र जाँच गर्न प्रदेशबाट किट उपलब्ध गराइएको र त्यो अपुग भएकाले प्रहरीलाई दिन नसकिएको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा रहेकालाई ६३५ किट आवश्यक पर्नेमा प्रदेशबाट ६ सय  मात्र आएको जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!