नुवाकोटमा वडाध्यक्षले ७० हजारमा बेचिदिए झोलुङ्गे पुल

Posted on: 06 Sep, 2019

भदौ २०, नुवाकोट |  विदुर नगरपालिका-५ र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुसी बेचेका छन्। विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेका हुन्। 

वि.सं. २०२१ मा निर्माण भएको पुललाई स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा आमनागरिकलाई केही थाहा नदिएको स्थानीयवासी बताउँछन्। पुराना सम्पदा सार्वजनिकरुपमा निर्णय नगराई बेची दिँदा देवीघाटका स्थानीयवासी दुखी बनेका छन्। 

कबाडीका रुपमा पुललाई सुरुमा तीन लाखमा बेच्‍ने हल्ला चलेको थियो। तर पछि ७० हजारमा मात्रै बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए। उनले भने ‘पञ्चायत कालमा निकै मिहेनत गरेर पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए।‘ त्यस्तै विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकारले पुल आफूले मात्र नभई बेलकोटगढी नपा-८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे। गल्छी-त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो  प्रयोगविहीन रहेकाले कवाडीलाई बेचिदिएका हौँ”, उनले भने, ‘कबाडीलाई  ७० हजारमा बेची रु ३५-३५ हजार दुवै वडाले बाढेर लिएका थियौँ।' यता गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदासमेत नछोई सडकको काम गरेको जनाएको छ।

विदुर नगरपालिका कार्यालय प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका कार्यालय प्रमुख राजेन्द्ररमण खनालले आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!