नेपाल–भारत सीमामा संयुक्त गस्ती

Posted on: 04 May, 2019

बैशाख २१, बाँके । भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन् । नेपाल–भारत सीमाक्षेत्रको जङ्गे पिलर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बटालियन नं ४२ को कम्पनी ई मुन्सीपुर्वाका कम्पनी कमाण्डर सुकुमार देवबर्माको संयुक्त कमाण्डमा गस्ती गरिएको हो । 

सशस्त्र प्रहरी उपरीक्षक शाहले सीमाक्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि रोक्न र दुई देशबीचको भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन यस्तो खालको संयुक्त गस्ती गरिँदै आएको जानकारी दिए । 

उनले नेपालमा निर्वाचन हुँदाका बखतमा पनि दुवै देशका सुरक्षा निकायले यसरी नै संयुक्त सुरक्षा गस्ती गर्ने गरेको र अहिले भारतमा पनि लोकसभाको निर्वाचन हुँदै गरेको अवस्थामा सीमाक्षेत्रको अवस्था बुझ्न संयुक्त गस्ती गरिएको बताए । 

बटालियन नं ४२ का कमाण्डर देवबर्माले सीमाक्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रमा संयुक्तरूपमा यसरी सुरक्षा गस्ती गर्दा सीमाक्षेत्रमा आपराधिक गतिविधि रोकिने, सीमाक्षेत्रको सुरक्षा हुने र दुवैप्रति सौहर्दता व्यक्त हुने भएकाले यस्तो खालको संयुक्त गस्तीको महत्व र प्रभावकारिता छुट्टै खालको हुने विश्वास व्यक्त गरे ।

भारतको उत्तर प्रदेशमा मे ६ तारिख अर्थात् यही वैशाख २३ गते हुने लोकसभा निर्वाचनका लागि आज बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द गरिएको छ । लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको ५१औँ बैठकले सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!