आगलागीबाट जोगाउन ३ सय सुरक्षित घर बनाइँदै

Posted on: 27 Apr, 2019

बैशाख १४, राँझा । वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । 

६ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो ।

बाँके क्षेत्र नं १ का सङ्घीय सांसद महेश्वरजङ्ग गहतराज (अथक) को अध्यक्षतामा हालै सम्पन्न सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले नरैनापुर गाउँपालिकामा ३०० वटा टिनले छाएको घर बनाउने निर्णय गरेको हो ।

पाँच नं प्रदेशकै पिछडिएको गाउँपालिकामा सूचीकृत उक्त गाउँपालिकाको प्रत्येक वडामा ५० वटाका दरले छ वटा वडामा ३०० बनाउनका लागि  प्रत्येक वडाले यसै हप्ताभित्र १० दिने सूचना जारी गरी निवेदन माग गर्ने र मापदण्डअनुसार ३०० घर छनोट गरी कार्यक्रम अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए । 

सङ्घीय सांसद गहतराज संयोजक रहेको उक्त समितिमा जिल्ला समन्वय समितिको सभापतिमा अजय श्रीवास्तव तथा सदस्यहरूमा गाउँपालिका अध्यक्ष अध्यक्ष साह र सङ्घीय आयोजना कार्यान्वयन एकाइ प्रमुख अथवा आयोजा प्रमुख रहेका छन् । 

सदरमुकाम नेपालगञ्जदेखि करीब ४० किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको उक्त गाउँपालिकामा अधिकांश घर फुसले छाएका छन् । 

फुसको छाना भएका बस्तीमा एक घरमा आगो सल्किदा गाउँनै ध्वस्त हुने समस्या रहेकाले फुसको छानो हटाउने अभियानमा लागेको सांसद गहतराजले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!