रुकुमका द्वन्द्वपीडित एकल महिला सामूहिक आयआर्जनमा सक्रिय

Posted on: 27 Dec, 2016

पुस १२, रुकुम । रुकुमको महत–२ की ४४ वर्षीया सगुनमाया बुढा एकल महिला हुनुहुन्छ । उहाँका श्रीमान्लाई द्वन्द्वको समयमा २०५७ सालमा नेपाल प्रहरीको हातबाट मृत्यु भएको थियो । 

श्रीमान्को मृत्यु भएपछि बुढालाई आफ्ना छोराछोरी पढाउन तथा घर खर्च चलाउन निकै समस्या भयो । केही वर्षसम्म उहाँले कष्टपूर्ण दिनहरु काट्नुभयो ।

विसं २०६६ देखि बुढाको दैनिकी परिवर्तन भएको छ । उहाँसँगै गाउँका अन्य द्वन्द्वपीडित एकल महिला एकजुट भएर जङ्गलमा खेर गइरहेका अल्लोको सङ्कलन गर्ने र त्यसबाट घरायसी सामग्री बनाउने काम थाले । यसपछिका दिनमा जीविका चलाउन उहाँलाई सजिलो भयो । 

गाउँका एकल महिला एकजुट भएर यस्तो काममा लागेको उहाँको भनाइ छ । पूर्वी रुकुमका महत, काँक्री, मोराबाङलगायत गाविसका १५ जनाभन्दा बढी द्वन्द्वपीडित एकल महिलाले सामूहिक रुपमा अल्लो सङ्कलन गरेर अहिले राम्रो आम्दानी गरिरहेका छन् । 

अल्लोको धागोबाट कम्बल, टोपी, सुइटर, पटुकालगायतका सामग्री निर्माण गर्ने गरेको बुढाले बताउनुभयो । सुरुमा निर्माण गरिएका सामग्री बिक्री नभए पनि अहिले भने व्यापारीहरु सङ्कलनका लागि गाउँमै आउने गरेको र मूल्य पनि राम्रो तिर्ने गरेको उहाँको भनाइ छ । 

एक मौसममा अल्लोको धागोबाट निर्माण गरिएका सामग्री बिक्री गरेर हरेक महिलाले करिब रु ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको बुढाले बताउनुभयो । उनीहरु अहिले मेसिनबाटै विभिन्नखालका सामग्री निर्माण गर्ने गर्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!