असोज १५, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो कार्यकालमा नीतिगत रुपान्तरणमा ऐतिहासिक काम गरेको दाबी गरेका छन्। मंगलबार मन्त्रालयमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) द्वारा बुझाइएको ध्यानाकर्षण पत्रपछि बोल्दै मन्त्री पाण्डेले आफूले पर्यटन क्षेत्रमा अन्य कुनै मन्त्रीले नगरेका महत्वपूर्ण नीतिगत परिवर्तनहरु गरेको दाबी गरे।
उनले आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट धेरै नयाँ ऐनहरु संसदमा प्रस्तुत हुने जानकारी दिए। "पर्यटन ऐन, लुम्बिनी विकास कोष ऐन, पशुपति क्षेत्र विकास कोष ऐन लगायतका नीतिगत परिवर्तनहरु गर्दैछौं," उनले भने। साथै, संस्कृति नीति, पर्यटन नीति, समसामयिक नीति लगायतका नीति निर्माण प्रक्रियामा रहेको उनले उल्लेख गरे।
हवाई क्षेत्रलाई व्यवस्थित गर्न हवाई नीति, नियामक निकाय र सेवा प्रदायक निकायको विधेयक अघि बढाइने जानकारी दिँदै उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान दुर्घटनामा समानता ल्याउने गरी बीमा ऐनको ड्राफ्ट तयार गरिरहेको बताए। गैरसैनिक हवाई उड्डयनसम्बन्धी विधेयकको तयारीसमेत भइरहेको मन्त्री पाण्डेले जानकारी दिए।
"मैले इतिहासमै कुनैपनि मन्त्रीले नगरेको नीतिगत प्रयास गरेको छु," पाण्डेले भने। "समसामयिक आवश्यकताका आधारमा कानूनी र नीतिगत रुपान्तरणका लागि ठूलो प्रयास भइरहेको छ।"
मन्त्री पाण्डेले नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको विकास र संरक्षणका लागि पनि नयाँ नीतिहरु अघि सार्न लागिएको स्पष्ट पारे।
यस बिषयमा तपाइको प्रतिक्रिया...!