टेकु अस्पतालको क्वार्टरमा झुण्डिएको अवस्थामा नर्सका पति मृत फेला

Posted on: 07 Jun, 2023

जेठ २४, काठमाडौँ | शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुस्थित नर्सिङ क्वार्टरमा कार्यरत नर्स नर्वदा शर्माका श्रीमान् दधीराम भण्डारी पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

५४ वर्षीय भण्डारी झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले  जानकारी दिए । उनका अनुसार भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् । उनी सधैँ अफिस जाँदा आउँदा श्रीमतीसँगै जानेआउने गर्थे ।

आज अस्पतालमा श्रीमतीलाई पुर्‍याएर उनी केहीबेर रेस्ट गर्छु भनी नर्सिङ क्वार्टरको कोठामा गएको बताइएको छ । पछि खाजा खान श्रीमतीले ३ बजेतिर फोन गर्दा नउठेपछि गएर हेर्दा मृत अवस्थामा भेटिएको अस्पताल स्रोतले बतायो ।

दुईजना लामो समयदेखि क्वार्टरमै बस्थे । नयाँ भवन बनाउन क्वार्टर भत्काइने भएपछि अरुले झैँ उनीहरू त्यहाँबाट सरेर डेरामा बस्दै आएका थिए ।

घटनास्थलमा प्रहरी सुसाइड नोट वा अरु केही लिखित वस्तु फेला नपारेको प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!