काठमाडौंबाट खोटाङ जाँदै गरेको सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो

Posted on: 02 Jun, 2023

जेठ १९, काठमाडौँ | काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जिप बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न दुर्घटनामा परेको हो । 


सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर चौधरीसहित ४ जना जिपमा सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ । जिपका ड्राइभर कृष्ण चौधरी झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको गाडीमा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय केसी‚ पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक पौडेल सवार थिए ।

नदीमा बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ । घाइते चौधरीको खुर्कोट शुभजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि गोताखोरको टोली बोलाइएको खुर्कोट प्रहरीका इन्सपेक्टर बताइन् । गाडी सडक किनारबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!