बुटवलको सुनौलो सहकारीका दुई सञ्चालक तथा कर्मचारी प्रहरी नियन्त्रणमा

Posted on: 31 May, 2023

जेठ १७, रुपन्देही | बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सहकारीका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मङ्गलवार राती नियन्त्रणमा लिएको हो । बचतकर्ताहरूले मङ्गलवार राती सहकारीको करिब ६० लाख हिनामिना गरेको आरोप लगाउँदै सहकारी घेरेपछि बुटवलको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय रामनगरका अनुसार नियन्त्रण लिएका सिर्जना तामाङ र आर्यन क्षेत्री सहकारीका कर्मचारी र सञ्चालक दुवै भएको बताएको छ । करिब ६० लाख सहकारीले हिनामिना गरेको बचतकर्ताहरूको आरोप छ । तर कति हो भन्ने अझै खुलेको छैन । यो विषयमा आज छलफल गरिने प्रहरीको भनाइ छ ।

बचतकर्ताहरू बढी आक्रोशित भएर सहकारी घेरेपछि घटना घट्न सक्ने सम्भावना देखेर उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षित राखिएको रामनगर वडा प्रहरी कार्यालयले बताएको छ ।सुनौलो सहकारी जिल्ला सहकारी संघ रुपन्देहीमा दर्ता नभएको जिल्ला सहकारी संघका सदस्य गंगालाल सापकोटाले बताए । बुटवलमा दर्ता नभई बाहिर दर्ता भएर आएका सहकारीहरू धेरै समस्यामा परेका छन् । बुटवल उपमहानगरले आवश्यक कानुन नहुँदा बाहिर दर्ता भएर यहाँ आएका सहकारीलाई अनुगमन गर्न नसकेको जनाएको छ । यसअघि अन्य ५ यस्तै सहकारी समस्याग्रस्त भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!