तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते

Posted on: 18 May, 2023

जेठ ४, डुम्रे । तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।

आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिनुभयो । आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो । 

विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!