एलिजाले भनिन्, ‘पार्टीको इमानदार सिपाही भएको नाताले खबरदारी गर्नु मेरो कर्तव्य हो’

Posted on: 17 May, 2023

जेठ ३, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एलिजा गौतमले पार्टीको इमानदार सिपाही भएको नाताले सरकारलाई खबरदारी गर्नु आफ्नो कर्तव्य भएको बताएकी छिन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा ऋषि धमलाकी श्रीमती एलिजाले सो कुरा बताएकी छिन् । यसमा उनले आफू राजनीतिमा सिकारु नै रहेको पनि बताएकी छिन् । उनी भन्छिन्, ‘म भित्र धेरै कमजोरी छन् थाहा छ । त्यो सुधार गर्दै छु । केही कुरा समयले सिकाउँदै गएको छ ।’

रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टी विरोधमा उत्रिएको छ । उनले रेशम चौधरीबारे भनेकी छिन्, ‘म आबद्ध पार्टीका नेता रेशम चौधरी यति बेला जेलमा हुनुहुन्छ । पार्टीले केन्द्रीय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ । अदालतको फैसला हाम्रो पक्षमा नआउँदा लाखौँ कार्यकर्ता निराश छन् । पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केही बोल्नु, सरकारलाई खबरदारी गर्नु मेरो कर्तव्य हो ।’

‘सोही ठानेर मिडियामा बोलेँ र खबरदारी गरेँ । यसमा सुझाव दिने सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।’

एलिजाले रेशम चौधरीलाई जेलबाट छुटाइएन भने देशमा आगो बल्छ भनेर चेतावनी दिएकी थिइन् । 

उनी गत माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!