शंकर कँडेल मृत्यु प्रकरण : चार्टर्ड एकाउन्टेन्ट जीवन रावल नियन्त्रणमा

Posted on: 05 May, 2023

बैशाख २२, काठमाडौँ | चितवनका पोल्ट्रि व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले चार्टर्ड एकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ । रावल अनमोल फिड्स प्रालिका चार्टर्ड एकाउन्टेन्ट हुन् ।

रावललाई बाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजय पण्डितले रातोपाटीलाई बताए । ३६ वर्षीय रावल बझाङको छबिसपाथिभेरा गाउँपालिकाका स्थानीय हुन् ।

चार्टर्ड एकाउन्टेन्ट जीवन रावललाई कँडेलले चितवनमै घर बनाएर राखिदिएका थिए । व्यावसायिक साझेदार भारतीय मारवाडी प्रदीप रुङ्टा र चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । पीडितका परिवारले दिएको जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले बताए ।

केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए । रुङ्टा भारतीय मारवाडी हुन् । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको घटनास्थलमा भेटिएको सुसाइड नोटमा उल्लेख छ ।

रुङ्टासँग मिलेर रावलले हिसाब मिलान गर्दा कँडेलेको नाममा बेरुजु देखाएको र आत्महत्या दुरुत्साहन गरेको आरोप छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!