व्यवसायी कँडेल मृत्यु प्रकरण: दुईजनाविरुद्ध उजुरी

Posted on: 03 May, 2023

बैशाख २०, चितवन | पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राति समाजिक सञ्जाल ह्वाटसबमार्फत उजुरी आएको बताउनुभयो । कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य  थिए । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले परिवारका तर्फबाट किटानी जाहेरी प्रहरी प्रमुख कार्कीको ह्वाटसवमा पठाउनुभएको हो । कँडेलले आत्महत्य अघि लेखेको नोट अध्ययन गरेर  अर्को उजुरी दिएको सभापति खनालले जानकारी दिनुभयो । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए । 

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । उजुरीपछि दुबै जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान साँझबाटनै सुरु गरिएको उहाँको भनाइ छ । कँडेल जिल्लाका लोकप्रिय थिए । भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारमा दाबी गर्दै आएका उनी गठबन्धन बनेसँगैपछि तत्कालीन समयमा पछिहटेका थिए । उनी भरतपुर महानगरपालिका–८ निवासी रहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!