अनलाइनबाटै एनओसी जारी गर्ने तयारी, कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

Posted on: 03 May, 2023

बैशाख २०, काठमाडौँ | वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।

अहिले पनि एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । तर, अबदेखि एनओसीको प्रिन्ट पनि अनलाइनबाट आफैँले गर्न मिल्ने व्यवस्था बनाउन लागेको हो । एनओसी शाखा प्रमुख बासुदेब वस्तीका अनुसार ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने व्यवस्था गर्न लागिएको हो ।

सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी आवेदकले सबमिट गरेका कागजातहरूका आधारमा अटोनोमस भेरिफिकेसन गर्ने वस्तीले बताए । विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरण समेत बैङ्क तथा वित्तीय संस्थाहरूबाट अटोमेटिक हुनेछ ।

यसका लागि शाखाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई अभिमुखीकरण गरेको छ । उनीहरूको माग अनुसार युजर म्यानुअल समेत तयार गरेको प्रमुख वस्तीले बताए ।

सोही आधारमा नेपाल राष्ट्र बैंकले समेत अनलाइन एनओसीको आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिन सर्कुलर गरेको छ । ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैङ्क तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट) सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्नेछ’, राष्ट्र बैंकले गरेको परिपत्रमा भनिएको छ ।

अहिले सरोकारवाला निकायहरूका सफ्टवेयर शाखाको अनलाइन प्रणालीसँग जोड्ने काम भइरहेको छ ।

कतिपय सरोकारवाला निकाय अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् । जसले गर्दा केही ढिलाइ भइरहेको वस्तीको भनाइ छ ।

'हामी तयारी गर्दैछौं । ढिलोमा अर्को हप्ताबाट सुरु हुन्छ । यो अन्त्यतै जटिल विषय हो । हाम्रो सरोकारवाला निकायको पनि सफ्टवेयर हुनुपर्‍यो । १३ वटा विश्वविद्यालय छन् । ती सबैको सफ्टवेयर छैनन् । तिनीहरू अनलाइन प्रणालीमा नगई उनीहरूका डकुमेन्ट भेरिफाई गर्न सक्दैनौँ', उनले भने ।

त्यस्तै एनओसी जारी गर्नका लागि २५ भन्दा बढी सरोकारवाला निकायहरू छन् । जसमा राहदानी विभाग, विश्वविद्यालयहरू, इमिग्रेसन लगायतका सरोकारवाला निकाय रहेका छन् ।

उनीहरूले अनलाइन मार्फत सेवा प्रवाह गरेको खण्डमा मात्र एनओसी शाखाले शतप्रतिशत सेवा प्रवाह गर्न सक्ने वस्तीको भनाइ छ ।

‘कम्तिमा २५ भन्दा माथिका सरोकारवाला निकायलाई अनलाइनमा जोड्नुपर्ने हुन्छ । अनलाइन आवेदन गरेपछि अनलाइनबाटै नै एप्रभ हुनको लागि सम्बन्धित निकायबाट डकुमेन्ट भेरिफाई हुनुपर्‍यो । त्यसका लागि उसको पनि अनलाइन सिस्टम हुनुपर्छ,’ उनले भने ।

अहिले तत्कालको लागि जति सरोकारवाला निकायको सफ्टवेयर डेभलप भएर सर्भिस डेलिभरी गरिरहेका छन्, उनीहरूलाई इन्डिग्रेट गर्दै जान लागिएको वस्तीको भनाइ छ । ‘तत्काल कम्तिमा ६० प्रतिशत पूर्ण अनलाइन गर्ने हो । र बाँकी ज-जसको सफ्टवेयर विकास हुँदै जान्छ । त्यसपछि थप गर्दै जाने हो । अहिले हामी तत्काल सबैलाई इन्टिग्रेट गर्न सक्दैनौँ । जतिले विकास गर्दै जान्छन् । उनीहरूलाई त्यही आधारमा विकास गर्दै जाने हो,’ प्रमुख वस्तीले भने ।

सरकारकाले वैदेशिक अध्ययनलाई व्यवस्थित गर्नका लागि ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । उक्त निर्देशिका एनओसी लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बनाइएको हो ।

सोही आधारमा एनओसी जारी गर्ने प्रक्रिया पूर्ण रूपमा अनलाइन गर्न लागिएको हो । अहिलेसम्म एनओसीका लागि आवेदन अनलाइनबाट दिन सकिन्थ्यो । अबको एक हप्तादेखि एप्रुभ भएर आएको एनओसी अनलाइनबाटै प्रिन्ट पनि गर्न सकिने भएको हो ।

हाल अनलाइन आवेदन रूजू भएपछि आफ्नो मोबाइलमा प्राप्त भएको म्यासेजमा एनओसी लिनका लागि दिइएको समयमा कार्यालयमा गएर लिनुपर्ने हुन्छ । तोकिएको मिति र समयमा लिन नसकेको खण्डमा अर्को दिनका लागि समय तोकिँदै आएको छ । र उक्त समयमा गएर एनओसी लिनुपर्ने हुन्छ । तर, अबदेखि रूजु भएको एनओसी लिनका लागि कार्यालयमा पुग्नुनपर्ने र अनलाइनबाटै प्रिन्ट गर्न मिल्न लागेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!