क्रिकेट खेलाडीहरुलाई जनही ६ लाख पुरस्कार दिने मन्त्रिपरिषद बैठकको निर्णय

Posted on: 03 May, 2023

बैशाख २०, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।


मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!