नेपालमै सुरू भयो सामसङ ब्रान्डको टेलिभिजन उत्पादन

Posted on: 26 Apr, 2023

बैशाख १३, काठमाडौँ | सामसङ ब्रान्डले नेपालमै टेलिभिजन उत्पादन सुरू गरेको छ । हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सामसङले नवलपरासीमा टेलिभिजन कारखाना नै स्थापना गरेर उत्पादन सुरू गरेको हो ।

टेलिभिजन उत्पादन गर्ने कारखानाको उद्घाटन बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले संयुक्त रुपमा गरेका छन् । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना भएको यो नै पहिलो उद्योग भएको कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष पार्कले नेपालमा दुई दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको बताए । साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउने र स्थानीय उद्योगलाई सशक्त बनाउन गरिरहेको कार्यको अर्को उदाहरण भएको उनले बताए ।

टेलिभिजन कारखानाले यस क्षेत्रका जनतालाई रोजगारीका अवसरहरु उपलब्ध गराउने भन्दै अध्यक्ष पार्कले दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल सरकार र स्थानीय निकायहरुले लिएको बलियो लक्ष्य र हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं’ उनले भने ।

कार्यक्रममा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले सामसङसँगको सहकार्यमा स्थापित नयाँ टेलिभिजन कारखानाले यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउने बताए । विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजार प्रति गहिरो अभिरुची देखाएको भन्दै उनले यसलाई महत्वपूर्ण संकेत भएको पनि बताए । टेलिभिजन उद्योग स्थापनाले देशको अर्थतन्त्रमा, रोजगारी, मूल्य अभिवृद्धि र देशको सिमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदान पुग्ने उनले बताए ।

कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुखसुङ जुन पार्क लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो ।

सामसङले हिम इलेक्ट्रोनिक्समार्फत् नेपालमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, ओभन र स्मार्टफोनहरू बिक्री वितरण गर्दै आइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!