धादिङमा फोहोर फाल्ने डम्पिङ साइटमा आगो सल्किएपछि धुँवाले बस्ती ढाकियो

Posted on: 22 Apr, 2023

बैशाख ९, धादिङ | धादिङको नीलकण्ठ नगरपालिका–८ को च्याढुघुम्तीस्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले आसपासका झन्डै एक दर्जन बस्ती प्रदूषित बनेका छन् । 

सदरमुकाम धादिङबेँसीबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइटमा आगो सल्किएपछि निस्किएको धुवाँको मुस्लोले एक सातादेखि मानव बस्ती नै धुवाँले ढाकिएको छ । एक साताअघि वन क्षेत्रमा लागेको डढेलो डम्पिङ साइटको अव्यवस्थित ढङ्गले फालिएको फोहोरको थुप्रोमा सल्किएको हो । विशेषगरी नीलकण्ठ–८ को ससाह, ज्यामिरेमा प्रदूषण फैलिएको छ । 

नीलकण्ठ–७ सुनौलाबजारको मस्र्याङछाप, डमडाँडा, सिद्धलेकको नलाङस्थित कालीदह, नयाँबस्तीमा पनि धुवाँको मुस्लोसहित प्रदूषण फैलिएको छ । दुर्गन्धसहित मानव बस्तीमा फैलिएको पिरो धुवाँले स्थानीय बिरामी पर्न थालेका छन् । आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएको ससाह ज्यामिरेका स्थानीय अर्जुन श्रेष्ठले बताउनुभयो । 

डम्पिङ साइटसँगै जोडिएको धादिङबेँसी मलेखु सडकमा सहजै हिँड्न सक्ने अवस्था छैन । प्रदूषणले गर्दा चालक र यात्रुलाई नाकमुख बन्द गरेर डम्पिङ साइट क्षेत्र पार गर्नुपर्ने बाध्यता छ । 

तीन दिनअघि नगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको भने पनि फोहोरको डङ्गुरको भित्रसम्म पुगेको आगो अहिले झन् बढेकोे छ । नगरपालिकाले डम्पिङ साइट व्यवस्थित गर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् । 

खुला रूपमा फालिएको फोहोरले वातावरणलाई प्रदूषित बनाएको छ । आगो सल्किएपछि निस्किएको दुर्गन्धित धुवाँले बस्तीमा बसी नसक्नु भएको स्थानीय भरत ढुङ्गानाले बताउनुभयो । “फोहोरको दुर्गन्धले हैरान छौँ, दुर्गन्ध र धुवाँको मुस्लोले बस्तीलाई ढाकिदिँदा सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको छ”, उहाँले भन्नुभयो ।

प्रदूषणले सास्ती भएको जानकारी गराउँदै नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । नगरपालिकामा समस्या राख्दा छिट्टै व्यवस्थापन हुने आश्वासन पाउने गरेको स्थानीयको भनाइ छ । “आश्वासन पाइन्छ”, ढुङ्गानाले भन्नुभयो, “तर काम कहिल्यै भएन ।”

बस्ती र जङ्गलमाथिको आकाश धुवाँले ढाकिएको छ । धुवाँ र दुर्गन्ध बढेपछि स्थानीय गाईबाख्रा चराउनसमेत जङ्गल जान सकेका छैनन् । आगो सल्किनुअघि नजिकै पुग्दा मात्रै दुर्गन्ध थाहा पाउने गरेको भए पनि अहिले बस्तीसम्मै दुर्गन्ध आएपछि स्थानीय पीडित बनेका छन् । जनघनत्व बढिरहेको यहाँको बजार क्षेत्रबाट दैनिक निस्कने फोहोरलाई च्याडुघुम्तीबाट थोपल खोला किनारमा फाल्दै आइएको छ । करिब दुई दशकदेखि यहाँ फोहोर फाल्दै आए पनि नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!