मिक्सरले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एक शिक्षकको मृत्यु

Posted on: 21 Apr, 2023

वैशाख ८, काठमाडौँ । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पौडेलको मृत्यु भएको हो । 

ठक्करबाट घाइते पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ९ः३५ बजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने मिक्सर र चालक प्रहरीको नियन्त्रणमा छन् । मृतक पौडेल नेपाल शिक्षक सङ्घ चितवनका पूर्वअध्यक्ष हुनुहुन्थ्यो । सरदपुर माध्यमिक विद्यालयको पूर्वप्राध्यानाध्यापक एवं हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै आउनुभएको थियो । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको रुपमा रहनुभएका पौडेल विभिन्न सामाजिक सङ्घ संस्थामा रहेर काम गर्दै आउनुभएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!