समोसा बेचेर जीवन चलाउँदै शिवलाल

Posted on: 21 Apr, 2023

वैशाख ८, भजनी । कैलालीको टीकापुर नगरपालिका–१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उहाँको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने  ठेला छ । बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ समोसाको    स्वाद जुन अझै उस्तै छ । त्योभन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उहाँको जीवनशैली र पूरा भएको सपना ।

अन्यका घरमा कमैया गरेर जीविका चलाउँदै आउनुभएका शिवलालको सपना थियो एउटा आफ्नै घर बनाएर  बस्ने । कमैया भएर अरूको घरमा काम गर्दाको पीडाभन्दा साहुका बोली वचन र परिवारको स्थिति देखेर सधँै चिन्तामा हुने शिवलाल छोराहरुको भविष्य बनाउनका लागि त्यहाँबाट बाहिर निस्कनुभयो । त्यही सपनाले कुनै दिन कमैयाको काम छोडेर सडक किनारमा बदाम बेच्न सुरु गर्नुभएका उहाँले बदाम नहुने याममा तरकारी व्यापार गर्दै सपनालाई साकार बनाउनतिर लाग्नुभयो । “चारजनाको परिवार, छोराहरू सानै, साहुको घर छोडेर भाडाको बसाइ हाम्रा लागि निकै महँगो भयो”, शिवलाल भन्नुहुन्छ,  “के खाने भन्ने थियो । त्योभन्दा बढी चिन्ता घरको भाडा तिर्न हुन्थ्यो । त्यो बेलाको दुःख सम्झियो भने अझै विरक्त लागेर आउँछ । मनमा निकै पीडा महसुस हुन्छ ।”

अहिले शिवलालको जीवनी निकै फेरिएको छ । उहाँले अन्तिम व्यापारका रुपमा एउटा ठेलामा समोसा बनाएर बेच्न सुरु गरेपछि उहाँले पछाडि फर्केर हेर्नुपरेको छैन । समोसा बेचेरै उहाँले जग्गा खरिद गर्नुभयो । एउटा सुन्दर घर पनि बनाउनुभयो । समोसासँगै अन्य फास्टफुडका परिकार पनि थप्दै जानुभयो । तर शिवलालको समोसा जति परिचित अरू परिकार बन्न सकेनन् । त्यतिमात्र होइन दुई छोराहरूलाई पनि व्यापारमा लगानी लगाउनुभयो । “कमाई कति गरे त्यो कुनै लेखाजोखा केही  छैन । समोसा बेचेरै मैले आफ्ना सपना पूरा गरेको छु”, उहाँ भन्नुहुन्छ, “दुवै छोरा व्यापार गर्छन् । अहिले सबै आ–आफ्नो कमाएर खाने स्थितिमा पुगेका छौँ ।”

 शिवलालले समोसा बेच्न सुरु गर्नुभयो त्यो बेला दुई समोसाको पाँच रुपैयाँ पथ्र्यो । अहिले समय निकै बदलिएको छ । तत्कालीन समयमा रु पाँचका दुई समोसा बेच्ने उहाँ अहिले रु २० को एउटा समोसा बेच्नुहुन्छ । ग्राहकको कमी छैन । दैनिक सातदेखि १० हजारसम्मको पनि व्यापार हुन्छ । राम्रो आम्दानी गर्दै आउनुभएका शिवलालको सफलतमा उहाँकी श्रीमती  राजकुमारी  ठूलो देन छ । शिवलालले गरेका हरेक सङ्घर्षमा सँगसँगै हिँड्नुभएकी राजकुमारी नै आफ्नो प्रेरणा भएको उहाँ बताउनुहुन्छ । “मैले व्यापार गर्दादेखि आजसम्म श्रीमान्श्रीमती छुटिनुपरेको छैन । श्रीमतीले समोसा बनाउने काम गर्छिन् । म पकाउने र बिक्री गर्ने”, शिवलालले भन्नुभयो, “साथमा सहयोगी राम्रो भयो भने पनि मान्छे विचलित नहुँदो रहेछ ।”

शिवलालले छोराहरूलाई पनि राम्रो शिक्षा दिएर दक्ष बनाउने अर्को सपना थियो । त्यो सपना भने पूरा हुन नसकेको उहाँ बताउनुहँन्छ । छोराहरूले सीप सिकेर आफैँ स्वरोजगार बनेकामा भने गर्व छ । उहाँको जेठो छोरा मोटरसाइकल मर्मतसम्भारको ग्यारेज खोलेर बस्नु भएको छ भने कान्छो छोरा काठमाडौँमा व्यापार गर्नुहुन्छ ।

उहाँ पैसाकै लागि विदेश जानु मूर्खता भन्नुहुन्छ । कामको सम्मान गर्न सिकेको मान्छेले विदेसिनु नपर्ने उहाँको भनाइ छ । “विदेशमा जस्तो पनि काम गर्न सक्ने मान्छे समाजमा काम गर्न लाज मान्छ । समाजका अगाडि आदर्श बनेको हाम्रो बानीले हाम्रो नियत बिगारेको छ”, उहाँ भन्नुहुन्छ, “नभए यतै पनि कमाई राम्रो छ । महिनाभरि काम गरेर विदेश कमाउने पैसा त्यति मिहेनत स्वदेशमा गरे कमाउन गाह्रो छैन ।  किन विदेश जानुप¥यो ?”

यस बिषयमा तपाइको प्रतिक्रिया...!