गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट म्यानमार उडान गर्न पर्यटन बोर्डको पहल

Posted on: 19 Apr, 2023

बैशाख ६, काठमाडौं | नेपाल पर्यटन बोर्डले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट म्यानमारको राजधानी यगुनमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ । बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रर्वद्धन गर्न सहयोग मिल्ने अपेक्षा सहित बोर्डले यो पहल गरेको हो ।

यसका लागि बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यामारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी,लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशलन एअरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग काठमाण्डौमा उच्चस्तरिय छलफल सम्पन्न गरेको छ ।

छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।छलफल कार्यक्रममा लम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमार बीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेशलन एअरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट,सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफुहरु तयार रहको बताए । उनले सिधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिनसक्ने बताए ।

यस्तै म्यामारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारीपक्षसंग सम्बाद भइरहको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफुहरु सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययन पछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे ।

म्यामारको नेशलन एअरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुप खान्मुङले आफुले गौतमबुद्ध विमानस्थल निरक्षण गरेर फर्किएको र सिधा उडानबारे आफुहरु सकारात्मक रहेको बताए । उनले यसको लागि आवश्यक प्राविधिक तथा व्यवसायिक योजनाकासाथ छलफल अगाडि बढाइने समेत बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!