बैंकमा जम्मा भएको ५५ खर्ब रुपैयाँलाई उद्योगमा परिचालन गरी राेजगारी सिर्जना गरौँ : सांसद पौडेल

Posted on: 18 Apr, 2023

वैशाख ५, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गर्न सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै त्याे रकम देशका रुग्ण उद्योगहरूमा परिचालन गर्नुपर्ने बताउनुभएको हो । उहाँले अप्ठेराेमा परेका उद्योगहरूमा त्याे रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गर्नुभयो । त्यस्तै उहाँले देशमा ४० लाख खोप प्रयोगविहीन अवस्थामा रहेको भन्दै त्यस सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । ५५ खर्ब रुपैयाँ भनेको सरकारले औसत तीन पटक प्रस्तुत गर्ने बराबरको बजेट हो । त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अप्ठेराेमा परेका उद्योगहरूमा परिचालन गरी रोजगार सिर्जना गर्ने गरी प्रधानमन्त्रीले गरेका घोषणाअनुसार अगाडि बढाइयोस् । यस्तै ४० लाख खाेप प्रयोग नभएको भनेर समाचार आएको छ । त्यो खोप प्राविधिक हिसाबले नमिल्ने भएर प्रयोग नभएको हो कि हाम्रो लापर्बाहीको कारणले प्रयोग नभएको हो, त्यसको बारेमा पनि सम्बन्धित निकायले छानबिन गराेस् ।’

सांसद पौडेलले यस वर्ष विद्यार्थीले समयमै किताब पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताउनुभयो । उहाँले किसानले समयमै रासायनिक मल पाउनुपर्ने पनि बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!