खुलामञ्च निषेधित क्षेत्र होइन तर शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह

Posted on: 28 Mar, 2023

चैत १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च आन्दोलनका निषेधित क्षेत्र नभएको बताएका छन् । मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको बारे प्रष्टीकरण दिँदै उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको बताए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले भनेका छन्, ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो । यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’

पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले संघीयतामाथि निर्मम प्रश्न गरिरहेको उनले बताएका छन् ।

पीडितहरूको यो अवस्थाले गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको उल्लेख गर्दै उनले संघीय सरकारलाई पीडा सम्बोधनका लागि अतिशीघ्र चासो दिन आग्रह पनि गरेका छन् । उनले आन्दालेनलाई आफ्नाे ऐक्यबद्धता पनि जनाएका छन् ।

‘शङ्कास्पद’ भनेर बालेनले के कुरालाई ईंगित गर्न खोजेका हुन् त ? 

निकट स्रोतका अनुसार आन्दोलनका नाममा पीडितहरूले धेरै दिनसम्म त्यहीँ अड्डा जमाउन सक्ने चिन्ता उनलाई छ । साथै, यो आन्दोलनमा राजनीतिक घुसपैठको आशंका पनि बालेनले गरेका छन् । वैद्य र विप्लव निकट माओवादीका व्यक्तिहरूले आन्दोलनको नेतृत्व गरेकोलाई उनले शंकाको नजरले हेरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!