प्रारम्भिक तथ्यांकमा भन्दा २७ हजार ९०२ जनाले घट्यो जनसंख्या

Posted on: 24 Mar, 2023

चैत १०, काठमाडौँ । प्रारम्भिक तथ्यांकमा भन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ । १४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो ।  तर, शुक्रबार सार्वजनिक गरिएको विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जुन प्रारम्भिक जनसंख्या भन्दा २७ हजार ९०२ जनाले कमी हो । 

शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को विस्तृत नतिजा सार्वजनिक गरिएको हो । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको छ ।

विभागका अनुसार मधेस र बागमती प्रदेशमा २१ प्रतिशत (६१ लाख हाराहारी) जनसङ्ख्याको बसोबास रहेको छ । 

त्यस्तै सबैभन्दा कम बसोबास कर्णालीमा ६ प्रतिशत रहेको छ । त्यस्तै २५३ वटा नगरपालिकाको बसोबास बढेको छ । सहरी क्षेत्रको बसोबास झन्डै दुई तिहाइ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । विभागका अनुसार सहरी क्षेत्रमा मात्रै १ करोड ९२ लाखको बसोबास भएको तथ्याङ्क विभागको रेकर्ड छ । विगत १० वर्षमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा जनसङ्ख्या वृद्धि दरको परिवर्तन भएको छ । 

यो प्रदेशमा करिब १४ प्रतिशतले जनसङ्ख्या वृद्धि दर छ । त्यस्तै गण्डकी प्रदेशको सबैभन्दा कम वृद्धिदर छ । यहाँ २ दशमलव ६१ प्रतिशतको वृद्धिदर छ ।  उमेर समूहका आधारमा नेपालको जनसङ्ख्या १५ देखि १९ वर्षको उमेर समूहको धेरै रहेको छ ।  

केटाकेटीको सङ्ख्या घटेको छ । यो समूहको ३५ प्रतिशतबाट घटेर २७ प्रतिशत पुगेको छ । ६० वर्षमाथिका पहिला ८ प्रतिशत रहेकोमा अहिले १० प्रतिशतभन्दा बढी छ ।   बुढाबुढीको सङ्ख्या बढेको छ । तन्नेरीको सङ्ख्या घटेको छैन । भविष्यमा केटाकेटीको सङ्ख्या घट्दै जाने हो भने । आर्थिक क्रियाकलापमा असर पर्ने विज्ञहरूको भनाइ छ ।  अघिल्लो वर्ष १० देखि १४ वर्षको उमेर समूह थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!