एआईजी ज्ञवालीको भर्ना प्रक्रियामा भेटिएन त्रुटि, गृह स्रोत भन्छ– तत्कालीन कानूनअनुसार योग्य देखियो !

Posted on: 23 Mar, 2023

चैत ९, काठमाडौं | प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ । एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अनुसन्धान गरेको गृह मन्त्रालय स्रोतका अनुसार उनी तत्कालीन अवस्थामा विद्यमान कानूनी व्यवस्थाअनुसार प्रहरी सेवामा भर्ना हुन योग्य रहेको देखिएको छ ।

नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक जन्ममिति रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै ज्ञवालीविरुद्ध उजुरी परेको थियो ।  उजुरी सम्बन्धमा प्रारम्भिक छानबिन गरेको गृह मन्त्रालयले प्रहरी नियमावलीको तत्कालीन व्यवस्थाअनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निष्कर्ष निकालेको छ । भर्ना हुँदाको समयमा अर्कै व्यवस्था रहेकोमा अहिलेको नियमावलीसँग तुलना गर्नु तर्कसंगक नहुने गृहका एक अधिकारीले बताए ।

‘कसैले उजुरी गर्दैमा कोही दोषी ठहरिने होइन । उनका सम्बन्धमा खासै समस्या हुने खालको अवस्था देखिएन । महानिरीक्षक नियुक्तिका बेला विवाद निकाल्नु उपयुक्त पनि होइन,' गृह स्रोतले भन्यो । 

डीआईजीबाट एआईजीमा बढुवा भएका पाँचजना भावी आईजीपीका लागि प्रतिस्पर्धी छन् । पाँचै एआईजीले बुधवार प्रहरी महानिरीक्षकको हातबाट फुली लगाएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह तथा एआईजीहरूले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता समेत गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!