सिरहाका विद्यालय बन्द गर्न आग्रह

Posted on: 06 Oct, 2020

असोज २०, लहान । जिल्ला विपद् व्यवस्थापन समितिले  विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।  बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । 

विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेका बेला विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उहाँले बताउनुभयो । 

यहाँका मिर्चैया तथा गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।  निर्णय अनुसार ती स्थानीय तहका नीजि तथा सामुदायिक विद्यालयहरुले विद्यालयमा विद्यार्थी उपस्थित गराई पठन पाठन गराउन थालेपछि यस्तो निर्णय लिनुपरेको उहाँको कथन छ  बैठकले सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायातका साधनहरु सञ्चालन भए नभएको अनुगमन गर्न र परिपालना नगर्नेलाई कारवाही गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय  र यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।    

जुवाडे पक्राउ

प्रहरीले सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौकस्थित एक होटलबाट गएराति आठजना जुवाडेलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ५ हजार तथा ताससहित मिर्चैया ८ का २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ बर्षीय दिलीप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी,  गोलबजार नगरपालिका १ का ३२ वर्षीय नातिकाजि राई, उदयपुरको कटारी नगरपालिका १ का २५ वर्षीय बिशाल सुनार र  ३४ बर्षीय दानबहादुर राईलाई पक्राउ गरेको हो ।   यसैबीच आफुलाई प्रहरी भन्दै ठगि गर्ने एक जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  अर्नामा गाउँपालिकाका ३० वर्षीय मो. जाबिर रहेका छन् ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!