सिन्धुपाल्चोकको चार तहकाे परिणाम सार्वजनिक, तीनमा कांग्रेस, एकमा माओवादी

Posted on: 17 May, 2022

 जेठ ३, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको १२ मध्ये चारवटा वटा स्थानीय तहकाे परिणाम सार्वजनिक भएको छ । बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका र हेलम्बु गाउँपालिकाको अन्तिम मतपरिणाम आएको हो । तीनमा कांग्रेस र एकमा माओवादी र एकीकृत समाजवादी गठबन्धन विजयी भएको छ ।  

बाह्रबिसे नगरपालिकामा निवर्तमान मेयर निमफुञ्जो शेर्पालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत विजयी भएका छन् । कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर बाह्रबिसे अघिल्लोपटक एमालेले जितेकाे थियाे । एमालेका उम्मेदवारसँग पराजित बालकृष्णले यसपटक उनै शेर्पालाई पराजित गर्दै नगरको नेतृत्व आफ्नो पोल्टामा पारेका छन् । शेर्पाले पाँच हजार चार सय ३३ मत ल्याउँदा बालकृष्णले सात हजार सात सय २८ मत ल्याए ।

उपमेयरमा एमालेबाटै उम्मेदवारी दिएकी निवर्तमान उपप्रमुख सुशीला पाख्रिन पराजित भइन् । पाख्रिनले पाँच हजार नाै सय ९० मत ल्याउँदा कांग्रेसकी उपप्रमुख मञ्जु तामाङले ६ हजार नाै सय ७७ मत ल्याएर विजयी हासिल गरिन् । 

नगरपालिकामा ९ वडा छन् । जसमा वडा नम्बर १,२,३,४,५, ८ र ९ मा कांग्रेस र वडा नम्बर ६ र ७ मा एमाले उम्मेदवार विजयी भएका छन् ।

बलेफी गाउँपालिका अध्यक्षमा  माओवादी-समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ विजयी भइन्। गठबन्धनका अध्यक्ष उम्मेदवार गंगा तामाङले चार हजार ६ सय ६६ र कांग्रेसका सुवास तिमल्सिना चार हजार एक सय पाँच मत ल्याएर पराजित भए । 

एमालेबाट अध्यक्ष पदमा उम्मेदवार नारायणकाजी श्रेष्ठले तीन हजार ३८ र एमालेकै उपाध्यक्ष उम्मेदवार सपना थापाले तीन हजार ६ सय ३३ मत ल्याइन् । कांग्रेसकी सरु लामा तामाङले चार हजार तीन सय ९४ मत ल्याएर उपाध्यक्षमा विजयी बनिन् । 

सो पालिकामा ८ वडा छन् । जसमा वडा नम्बर १,२,३, ५, ७ र ८ मा कांग्रेसका उम्मेदवारले जित हात पारे । वडा नम्बर  ४ मा माओवादी केन्द्र र ६ मा एमालेका उम्मेदवार विजयी भए । 

भोटेकोसी गाउँपालिकामा कांग्रेसले जित निकालेको छ । कांग्रेसका पासाङ नुर्पु शेर्पाले अध्यक्षमा दुई हजार ६ सय पाँच  मत ल्याए भने उनका प्रत्यासी एमालेका अध्यक्ष अमृत खड्काले दुई हजार ४८ मत ल्याएर पराजित बने ।  

कांग्रेसका दिछेन शेर्पाेले २७ सय १२ मत ल्याएर उपाध्यक्षमा विजयी भए । एमालेका उपाध्यक्ष उम्मेदवार सुन्तलीमाया लामा श्रेष्ठले २ ५ सय ५३ मत ल्याइन् ।

यसअघि माओवादी केन्द्रको पोल्टामा रहेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा यसपटक भने कांग्रेसले जित निकालेको हाे । निवर्तमान गाउँपालिका अध्यक्ष एव‌ माओवादी केन्द्रका उम्मेदवार राजकुमार पौडेल र उपाध्यक्ष उम्मेदवार आशा गुरुङले १९१८ र १६१२ मत ल्याएर तेस्रो भएका छन्  ।

सो पालिकामा पाँच वडा छन् । जसमा वडा नं. १,२ र ५ मा कांग्रेस उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन् । वडा नं. ४ मा एमाले र  ३ मा स्वतन्त्र उम्मेदवार लालटिन चिन्हका निमा सोना शेर्पा विजयी भएका छन् । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा कांग्रेसका निवर्तमान अध्यक्ष निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका छन् । पालिकामा अध्यक्ष-उपाध्यक्ष कांग्रेसले नै जितेकाे छ ।

शेर्पाले ५३ सय ८६ मत ल्याए । अध्यक्षका प्रत्यासी एमाले उम्मेदवार दावा लामाले ४६ सय तीन मत ल्याए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकै अप्सरा लामिछाने ५२ सय १४ मत ल्याएर विजयी भइन् । उपाध्यक्षकी प्रत्यासी एमालेकी गंगा अर्यालले ४६ सय ७१ मत ल्याइन् । माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका पेमा लामा र सुमित्रा आचार्य आठ सय १३ र १०० मत ल्याएर तेस्रो भए ।

सो पालिकामा सात वडा छन् । १,२, ४,५ र ७ मा कांग्रेस र वडा नम्बर ३ र ६ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

 




यस बिषयमा तपाइको प्रतिक्रिया...!