सिन्धुपाल्चोकको थाङ्पालकोट अलैँचीको पकेट क्षेत्र घोषणा हुँदै

Posted on: 20 Jan, 2017

माघ ७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ । 

अलैंचीको निकै विस्तार भएको, खेतीको प्रचुर सम्भावाना रहेको र खेतीका लागि यो स्थान उपयुक्त रहेको भन्दै जिल्ला कृिष विकास कार्यालयले थाङ्पालकोटलाई अलँैची पकेट क्षेत्र घोषणा गर्न लागेको कृषि विकास कार्यालयले बताएको छ । 

अलैँची खेतीका लागि थाङ्पालकोटवासीबाट सिक्नुपर्ने नमुनाको रुपमा विकास हुँदै गइरहेको छ । गाविसमा विगत १० वर्षदेखि अलँैचीखेती हुँदै आएको टाल्टुले कृषि लघु उद्यमी अलैँची समूहका अध्यक्ष दोगदोग तामाङले जानकारी दिनुभयो । 

थाङ्पालकोटमा अलैँची उत्पादन फस्टाउनुका साथै यसको राम्रो उत्पादनसमेत हुँदै आएको कृषकहरु बताउँदै आइरहेका छन् । उक्त गाविसका कृषकहरु अलैँची उत्पादनबाट आत्मनिर्भर हुनुका साथसाथै मनग्य आम्दानीसमेत गर्न सफल भएका छन् । 

खेतीका लागि जिल्लाको उपयुक्त स्थान र उत्पादन राम्रो रहेको जिल्ला कृषी विकास कार्यालय, चौताराका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले बताउनुभयो । 

थाङ्पालकोटमा मात्रै ९०० रोपनीमा अलैँची खेती भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका थाङ्पालकोट, बरुवा, चोकटीलगायत विभिन्न ओसिला ठाउँहरुमा अलैँचीखेती हुँदै आएको छ । 

सिन्धुपाल्चोकका किसानहरु उत्साहका साथ अलैँचीखेतीमा सक्रिय देखिएपनि यो वर्ष भाउ घटेकाले किसानहरु चिन्तित बनेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!