नवलपुर सडक स्तरोन्नति सुरु

Posted on: 19 Jan, 2022
माघ ५, सिन्धुपाल्चोक | ईन्द्रावती गाउँपालिकाको रणनीतिक सडक अन्तर्गतको ज्यामीरेमाने नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मङ्गलबार सो सडकको शिलान्यास गर्नुभएको हो ।
शिलान्यासको अवसरमा अध्यक्ष तामाङले ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउन यो सडकले सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाका सम्पूर्ण सडक क्रमशः स्तरोन्नति र कालोपत्र गरिँदै लैजाने जानकारी दिँदै धमाधम काम भइरहेको उल्लेख गर्नुभयो ।
सङ्घीय सरकार र स्थानीय सरकारको साझेदारीमा सो काम सुरु गरिएको हो । सो सडकको स्तरोन्नति पश्चात गाउँपालिकाको ७ वटा वडाले प्रत्यक्ष रुपमा लाभ लिनेछन् । सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावत सहज हुने बताइएको छ । सो सडकको स्तरोन्नतिका लागि मूल्य अभिवृिद्ध करसहित रु १० करोड ९ लाख ९ हजार ८५१ लागत अनुमान रहेको छ । 
सो लागतमा ईन्द्रावती गाउँपालिकाको पाँच करोड ९४ लाख ९ हजार ८५१ र सङ्घीय सरकारको समपुरक अनुदान चार करोड १५ लाख रहेको छ । ज्यामीरेमाने नवलपुर सडक स्तरोन्नतिमा बाटो चौडा गर्ने, प्लम क्रङक्रिटको नाली बनाउने, ढुङ्गाको सोलिङ, गाभ्रेल, स्टोन मेसिनरी तथा ग्याबिन वाल लगाउने, ह्युमपाइप हाल्ने र बाटो ढलानको काम रहेको छ ।
सो बाटो निर्माणका लागि श्री घिसिङ/युएण्डएस जेभी, माझिफेदा काभ्रेले सम्झौता गरेर काम सुरु गरेको छ । निर्माणको जिम्मा पाएको कम्पनीले रु पाँच करोड २१ लाख २३ हजार ३५४ मा ठेक्का सम्झौता गरेको छ । गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामप्रसाद शर्माले गाउँपालिकाद्वारा भएका महत्वपूर्ण कार्यक्रम र हालसम्म हासिल गरेका मुख्यमुख्य उपलब्धिमध्ये यो सडक पनि रहेको जानकारी दिनुभयो  । सडक स्तरोन्नति भएपछि दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!