सर्लाहीको बरहथवा–१७ मा मतदान जारी

Posted on: 17 May, 2022

जेठ ३, सर्लाही | गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यलयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो । आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यलयले मंगलवार बिहान ७ बजे देखी ५ बजे सम्म मतदानको तालिका सार्वजनिक गरेको थियो । 


बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले पुनः चलिरहेको जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलकाअनुसार गत शुक्रवार बरहथवा नगरपालिका–१७, को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा विवाद भए पछि साँझसम्म जम्मा ३७२ मतमात्र खसेको थियो । 

गत ३० वैशाख शुक्रबार मतदान सुरु भएलगतै जनता समाजवादी पार्टी (जसपा)पक्षले आफू पक्षीय मतदातालाई बिहानै मतदान गराएको र मध्यान्हबाट अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुनः मतदानको माग गर्दै उजुरी दर्ता गराएका थिए ।

सोही उजुरीको आधारमा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत दुईवटा मतदान केन्द्रमा जम्मा एकहजार ९५४ मतदाता छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!