कुमारको मृत्यु बारे प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने जनार्दनको दाबि

Posted on: 24 Jun, 2019

असार ९, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् । प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नभन्ने उनको भनाइ छ ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले भने,‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’

गोली लागेर मारिएको व्यक्तिको हात ६-७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने उनको भनाइ छ । उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए । विप्लव समूहलाई प्रतिवन्ध लगाउनसमेत आवश्यक नरहेको पूर्वगृहमन्त्री शर्माले बताए ।

सोमबारको बैठकमा गृहमन्त्री थापाले पौडेलको मृत्यु प्रहरीको जवाफी कारबाहीमा भएको जवाफ दिएका छन् । गस्तीमा रहेको प्रहरी टोलीलाई पौडलसहितको समूहले फायर गरेकाले प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा पौडेलको मृत्यु भएको गृहमन्त्रीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!