सप्तरीमा २० जना महिला चुनावी प्रतिस्पर्धामा

Posted on: 12 Oct, 2022

असोज २६, सप्तरी | आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीका २० जना महिलाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार कुल एक सय ८१ जनाले उम्मेदवारी दिएकाे र त्यसमध्ये महिला २० जना रहेका छन् ।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा एक जना, प्रतिनिधिसभाकाे क्षेत्र नम्बर २ मा तीन जना प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा एक जना गरी पाँच जना महिलाले उम्मेदवारी दिएका हुन् ।  प्रदेशसभातर्फ भने १५ जना महिलाको उम्मेदवारी परेको छ।

सप्तरी-१ बाट टीकालक्ष्मी चौधरीले नागरिक उन्मुक्ति पार्टीवाट उम्मेदवारी दिएकी छिन् । प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी- २ बाट तीन जना महिलाको उम्मेदवारी परेकाे छ । नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिलादेवी मण्डल, पीछडा वर्ग निषद दलित जनजाति पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्रकुमारी देवले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी- ४ बाट माधुरीकुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । सप्तरी- १ को प्रदेशसभा (क) बाट शशीकलाकुमारी चौधरी र महावती मलाहले र सप्तरी-१ को (ख) सुनिताकुमारी मलाहले उम्मेदवारी दिएका छन् । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र मलाहद्वयले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवारी दिएका हुन् ।

क्षेत्र नम्बर २ (क) बाट तीन जना महिलाको उम्मेदवारी परेकाे छ । चन्द्रकला सिंह र पुनिताकुमारी ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने विणादेवी यादवले नेपाल मजदूर किसान पार्टी नेमकिपाबाट उम्मेदवारी दिएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट पनि तीन जना महिलाको उम्मेदवारी परेको छ । प्रतिमा कुमारी देवले कांग्रेस बीपीबाट उम्मेदवारी दिएकी छिन् भने सकुन्तलादेवी यादव र रिंकुदेवी यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

क्षेत्र नम्बर ३(क) बाट दुई  जना महिलाले उम्मेदवारी दिएका छन् । गिरिजाकुमारी चौधरी र अनमोल यादवले उम्मेदवारी दिएका हुन् । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र यादवले नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएका  हुन् । क्षेत्र नम्बर ३(ख) बाट ऐलिना आचार्य र डोमनीदेवी रामले उम्मेदवारी दिएका हुन् । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी र रामले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उम्मेदवारी दिएका हुन् ।

क्षेत्र नम्बर ४ (क) बाट चिन्तादेवी सिंह र क्षेत्र नम्बर ४ (ख) बाट ललितादेवी लताले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!