'मधेसी भाषा'मा शपथ लिएको विरोधमा सीके राउतकै निर्वाचन क्षेत्रमा पुतला दहन

Posted on: 23 Dec, 2022

पुस ८, काठमाडौँ | सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ प्रदर्शन भएको हो ।

राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले नाराबाजी गर्दै राउतको पुतला दहन समेत गरेका हुन् ।


मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्वअध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताए । 

संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ । मैथिली भाषी क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेका राउतलाई नेपालको कुनै अधिकारिक दास्तवेजमा उल्लेख नरहेको मधेसी भाषाको नाम दिएर शपथ लिनु असंवैधानिक भएको मिलाफका अध्यक्ष रमिला साहले बताइन् ।

राउत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

                                                                                                                                                        -न्युज कारखाना

यस बिषयमा तपाइको प्रतिक्रिया...!