संखुवासभामा ६ जनाको सामूहिक हत्या प्रकरण : ४ जनालाई आजीवन कैद फैसला

Posted on: 05 Jul, 2022

असार २१, संखुवासभा | जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका  ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो ।

 हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई​ आजीवन कारावासको सजाय सुनाएको  श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले एक जना नाबालक रहेकाले कम सजाय भएको बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ ।  आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुनजेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए ।  ४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकलाई भने यसमा छुट दिइएको छ ।  

नाबालकले भने १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ  । उनीविरुद्ध  कर्तव्य ज्यानसँगै चोरी मुद्दा पनि चलाइएको थियो । हत्या गरेपछि मृतकको साथमा भएको मोबाइल उनले लिएर गएका थिए । त्यही अभियोगमा उनीविरुद्ध चोरी मुद्दा चलाइएको थियो । चोरी मुद्दामा पनि अदालतले उनलाई कसूरदार ठहर गर्दै १ वर्ष कैदको सजाय सुनाएको छ । तर बालक भएकाले चोरीमा पनि उनले दुईतिहाइ मात्रै कैद भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!