ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

Posted on: 05 Sep, 2021

भदौ २०, किमाथाङ्का (रासस)। सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । 

अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नंको मिनीट्रक चिचिला–१ पात्लेमा गए राति दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको  घटनास्थलमै मृत्यु भएको थियो ।   

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार  घाइते भएका १० मजदुरमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइत हुनेहरुमा खाँदबारी नगरपालिका–७ का २९ वर्षीय बब्लु मगर, भारतका आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रनाउ सुवेदीले जानकारी दिनुभयो । 

चालक पाण्डेको शव ट्रकले किचेको अवस्थामा आज बिहान निकालेर परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदैछ । घाइते १० मध्ये आठ  जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् ।  घाइते हुने  भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार छन् । दुर्घटनामा  खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् । घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!