उम्मेदवार छान्दै सङ्खुवासभाका राजनीतिक दल

Posted on: 25 Oct, 2019

कात्तिक ८, खाँदबारी | आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सङ्खुवासभाका राजनीतिक दल उम्मेदवार छान्न होमिएका छन् । रिक्त रहेको मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि उम्मेदवार छान्न दलहरु व्यस्त छन् ।

स्थानीय तहमा उपनिर्वाचन हुने भएपछि राजनीतिक दल चुनावी मैदानमा होमिएका हुन् । आसन्न उपनिर्वाचनका लागि राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् । मकालुका अध्यक्षको गाडी दुर्घटनामा निधन भएको थियो भने खाँदबारी–३ का वडाध्यक्षको हृदयघातबाट मृत्यु भएको थियो ।

मकालुका अध्यक्ष खड्गबहादुर कटुवाल २०७४ माघ २९ गते र खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको २०७४ फागुन १३ गते मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष र वडाध्यक्षको पद रिक्त भएपछि अहिले कार्यवाहकका भरमा चलेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काङ्ग्रेस उम्मेदवार टुङ्ग्याउने तरखरमा छन् । 

काङ्ग्रेस उम्मेदवारका लागि छलफलमै जुटिरहेको छ । नेकपाले वडाध्यक्षका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपाको सर्वसम्मत निर्णयले भरत घिमिरेलाई उठाउने निर्णय गरेको वडा समितिका अध्यक्ष भानु पराजुलीले बताउनुभयो । काङ्ग्रेसले भने तिहारलगत्तै उम्मेदवारको टुङ्गो लगाउने तयारी गरेको छ । चाडबाडलगत्तै सर्वसम्मत उम्मेदवार चयन गरेर नाम सार्वजनिक गर्ने काङ्ग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठले बताउनुभयो । यसअघिको निर्वाचनमा दुवै पदमा नेकपा सम्बद्धले जितेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!