नेवानिले भैरहवाबाट मलेसिया र नयाँदिल्लीमा उडान भर्ने तयारी

Posted on: 21 Mar, 2023

चैत ७, रुपन्देही | नेपाल वायुसेवा निगमले पटक–पटक उडानको मिति घोषणा गरेर पनि स्थगित हुँदै आएको रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब मलेसिया र नयाँदिल्लीमा उडान गर्ने भएको छ । निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको दुई उडान गर्ने गरी तयारी वायुसेवा निगमले गरेपछि यहाँ पर्यटन व्यवसायी उत्साही भएका छन् । निगमले बैशाख तेस्रो साताभित्र उडान सुरु गर्ने योजना उसले यहि हप्ता उडान तालिका सार्बजनिक गर्ने बताइएको छ ।


यसअघि पनि निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बताएको भएपनि अहिलेसम्म उडान भने गर्न नसकेकाले निजी क्षेत्र अझै विश्वस्त हुनसकेका छैनन् । निगमले काठमाडौंबाट मलेसियाको क्वालाम्पुर, क्वालाम्पुरबाट गौतमबुद्ध र त्यहाँबाट नयाँ दिल्ली उडान गर्ने तयारी छ । भैरहवाबाट मलेसियाका लागि सिधा उडान हुँदा यात्रुहरुको कमि देखिएकाले अहिलेलाइ काठमाडौंबाट उडान गर्ने र मलेसियाबाट भैरहवा एकतर्फी उडान गर्ने तयारी निगमको छ ।

मलेसियाबाट भैरहवा आउने निगमको जहाज भैरहवाबाटै दिल्ली र दिल्लीबाट काठमाडौ उडान भर्ने तयारी निगमको छ । हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज रहेको छ । हाल गौतमबुद्धबाट जजिरा एयरलाइन्सले मात्र कुबेतमा उडान गर्दै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सन्चालन भएको केही समयपछि हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियामा चार्टर्ड उडान गरे पनि प्राबिधिक कारणले भन्दै उडान स्थगित गरेको करिब ३ महिना भएको छ । जजिराले पनि मौसम खराबी भन्दै पुस पहिलो सातादेखि रोकेको उडान फागुन अन्तिमबाट पुन सुरु गरेको छ । जेठ २ गतेबाट औपचारिक उडान सुरु गरेको जजिराले अहिले साताको ३ उडान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!