लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

Posted on: 02 May, 2021

वैशाख १९, बुटवल। लुम्बिनी प्रदेशसभाको  विशेष अधिवेशन अन्त्य भएको छ ।  मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई  आज अधिवेशन अन्त्य भएको हो । 

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो ।  प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजदेखि अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेशसभा नियमावली २०७४ को नियम ३(३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ । 

प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री  पोखरेलको राजीनामापछि प्रदेश सरकारको जोडघटाउ शुरु भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!