सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान

Posted on: 23 May, 2021

जेठ ९, रुपन्देही (रासस)। नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आज बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो । 

एउटा दोहोरो लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्ग निर्माणका लागि मन्त्रालयले ग्लोबल टेन्डर आह्वान गरेको हो । पैतालीस दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान गरिएको हो । सुरुङमार्गका लागि रुपन्देही क्षेत्र नं २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि पहल गर्दै आउनुभएको थियो । उहाँले अर्थमन्त्री भएपश्चात् यहाँ आउँदा सुरुङमार्गको काम आफ्नै कार्यकालमा अघि बढाउने विश्वास दिलाउनुभएको थियो । 

अर्थमन्त्री पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सकेर समयमै काम शुरु हुने बताउनुभयो । उहाँले आयोजना निर्धारित मितिमै सम्पन्न हुनेसमेत जानकारी दिनुभयो । सिद्धबाबामा खसिरहने पहिराबाट हुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने उहाँको विश्वास छ ।  

सो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस् या वर्षायाम जुनुसकै बेला झर्ने चट्टानसहितको पहिरो खस्दा यात्रुको अकालमै मृत्यु हुुने गरेको छ । नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या छ । हरेक वर्ष यस क्षेत्रमा दुर्घटना भइराख्ने हुँदा यसलाई ‘मृत्यु मार्ग’ समेत भन्ने गरिन्छ । 

माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्यधिक जोखिममा छ । त्यसैलाई दृष्टिगत गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।

सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीलाई बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिसकेको छ भने अर्थ मन्त्रालयले अघिल्लो वर्ष नै रु १० अर्ब १५ करोड बजेट सुनिश्चितता  गरिसकेको छ ।

भारत सरकारको सहयोगमा झण्डै आधा शताब्दीअघि निर्माण कार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो । अहिले  सुरुङमार्गबाहेक एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम पनि भइरहेको छ । त्यस्तै सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नति गरिरहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!