रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै

Posted on: 24 Mar, 2023

चैत १०, रुकुम | रुकुमपश्चिममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाभर ९२ पक्की विद्यालय भवन निर्माण भइरहेका छन् । चालु आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको हो । 

छ स्थानीय तह मिलेर बनेको रुकुमपश्चिममा तीन गाउँपालिका र तीन नगरपालिका छन् । त्यसमा सबै स्थानीय तहमा अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोट भएका पक्की विद्यालय भवन निर्माणको काम जारी छ ।

केही ठाउँमा विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा छ भने केही ठाउँमा एक तलाको काम सम्पन्न गरेर दुई तलाको काम चलिरहेको छ । सानीभेरी गाउँपालिकामा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १७ सामुदायिक विद्यालय छनोट भएकामा सबै सामुदायिक विद्यालयका भवन निर्माणको काम भइरहेको गाउँकार्यपालिका प्रवक्ता पहलसिंंह घर्तीले बताउनुभयो । 

त्यस्तै त्रिवेणी गाउँपालिकामा पनि सो कार्यक्रमअन्तर्गत छनोट भएका २४ सामुदायिक विद्यालयका भवन निर्माणको काम जारी रहेको गाउँकार्यपालिकाका प्रवक्ता सुन्दर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै विद्यालय भवन ठेकेदारमार्फत निर्माण भइरहेका छन् भने कुनै स्थानीय निर्माण समितिमार्फत काम भइरहेको छ । 

निर्माणकार्य सञ्चालन भइरहेका सामुदायिक विद्यालयमा गाउँपालिकाले बेला–बेलामा अनुगमन पनि गरिहेको त्रिवेणीका प्रवक्ता ओलीले बताउनुभयो । चालु आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आठबीसकोट नगरपालिकामा १९, चौरजहारी नगरपालिकामा १२, बाफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा १०–१० सामुदायिक विद्यालयका भवन निर्माण कार्य जारी छ । 

निर्माण भइरहेका सामुदायिक विद्यालयमा दुईकोठे, चारकोठे भवन हुनेछन् । त्यसमा दुईकोठे भवन निर्माणका लागि रु २५ लाख र चारकोठे भवनका लागि रु ५० लाख बजेट खर्च हुने छ । उक्त सामुदायिक विद्यालयमा भवन निर्माण गर्न चालु आवमा रुकुमपश्चिममा ९२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!