कोरोना रोकथाममा जुट्दै रोल्पाका स्थानीय सरकार

Posted on: 10 May, 2021

उमा केसी । वैशाख २७, रोल्पा (रासस)। कोभिड–१९को दोस्रो लहरको सङ्क्रमण फैलिएसँगै रोल्पाका स्थानीय सरकारले यसको रोकथाम र उपचारका उपाय अवलम्वनमा सक्रियता देखाएका छन् । पहिलोको तुलनामा दोश्रो लहर भयावह बन्दै गएपछि स्थानीय सरकारलाई तातो लागेको देखिएको छ । स्थानीय श्रोत साधन जुटाई उनीहरुले महामारी रोकथामका लागि आइसोलेसन केन्द्र निर्माणदेखि सङ्क्रमितको उपचारका अरु उपाय अपनाएका हुन् । 

जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकाले ५० शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । नेकपा माओवादी केन्द्रले स्थापना गरेको शहिद स्मृति भवनमा सो केन्द्र स्थापना गरिएको हो । केन्द्रमा ३० वटा अक्सिजन सिलिण्डरसमेत व्यवस्था गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिनुभयो । रोल्पा नगरपालिकामा ११ महिला र १९ पुरुषसहित ३० जना कोरोनाका सक्रिय सङ्क्रमित फेला परेका छन् ।

सुनिल स्मृति गाउँपालिकाले १५ शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । सो केन्द्रमा १४ वटा अक्सिजन सिलिण्डरसमेत व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले जानकारी दिनुभयो । “आइसोलेसन केन्द्रमा डाक्टरसहितको स्वास्थ्यकर्मी तथा एम्वुलेन्सको व्यवस्था गरेका छौँ” घर्तीले भन्नुभयो । सुनिल स्मृति गाउँपालिकामा छ महिला र पाँच पुरुषसहित ११ जना कोरोनाका सक्रिय सङ्क्रमित देखिएका छन् ।

जिल्लाको सुनछहरी गाउँपालिकाले पाँच शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । सो केन्द्रमा अक्सिजनको भने व्यवस्था हुन नसकेको गाउँपालिका उपाध्यक्ष पवित्रा घर्तीले जानकारी दिनुभयो । जिल्ला वाहिर काम गर्न गएका मजदूर फर्कने क्रम बढेकाले सङ्क्रमण पनि बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाइरहेका छाँै घर्तीले भन्नुभयो । सुनछहरी गाउँपालिकामा हालसम्म पाँच जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

थवाङ गाउँपालिकाले पाँच शय्याको आइसोलेनसन केन्द्र स्थापना गरेको छ । सो केन्द्रमा अक्सिजनको व्यवस्था गर्न सकिएको छैन गाउँपालिका अध्यक्ष वीरवहादुर घर्तीमगरले भन्नुभयो । थवाङ गाउँपालिकामा हालसम्म एक जना महिलामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

जिल्लाको परिवर्तन गाउँपालिकाले १२ शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । केन्द्रमाएक थान अक्सिजन सिलिण्डर रहेको गाउँपालिका उपाध्यक्ष हितकुमारी रोकाले जानकारी दिनुभयो । परिवर्तन गाउँपालिकामा हालसम्म तीन जना पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

जिल्लाकै कोरोनाको ‘हट स्पट’ मानिएको गङ्गादेव गाउँपालिकाले पाँच शय्याको  आइसोलेशन केन्द्र स्थापना गरेको छ । आइसोलेसनमा अक्सिजनको भने व्यवस्था  छैन गाउँपालिका अध्यक्ष वीरवहादुर खत्रीले भन्नुभयो । “केन्द्रलाई निकट भविष्यमा  १५ शय्याको वनाउदै छौँ” खत्रीले भन्नुभयो । गङ्गादेव गाउँपालिकामा १३ महिला र  ३३  पुरुष गरी ४६ सक्रिय सङ्क्रमित फेला परिसकेका छन् । 

माडी गाउँपालिकाले १५ शय्याको आइसोलेसन केन्द्र  स्थापना गरेको छ । केन्द्रमा  १० वटा अक्सिजन सिलिण्डरसमेत व्यवस्था गरेको सो गाउँपालिकाका अध्यक्ष नन्दवहादुर पुनले जानकारी दिनुभयो । माडी गाउँपालिकामा  हालसम्म दुई महिला र चार पुरुषसहित छ जना सङ्क्रमित फेला परेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिकाले २५ शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको जनाएको छ । केन्द्रमा अक्सिजन सिलिण्डर भने दुई थान मात्रै व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले भन्नुभयो । त्रिवेणी गाउँपालिकामा छ महिला र १२ पुरुषसहित १८ जना सक्रिय सङ्क्रमित  रहेको जानकारी दिइएको छ । 

जिल्लाको रुन्टीगढी गाउँपालिकाले २५ शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । केन्द्रमा २२ सिलिण्डर अक्सिजनसमेत व्यवस्था गरेका छाँै गाउँपालिका अध्यक्ष वालाराम बुढामगरले भन्नुभयो । छिमेकी जिल्ला दाङ र प्यूठानसँग सिमाना  जोडिएका कारण रुन्टीगढी गाउँपालिकालाई बढी जोखिम क्षेत्रको रुपमा हेरिएको छ । सो गाउँपालिकामा हालसम्म नौ महिला र ११ पुरुषसहित २० जना सक्रिय  सङ्क्रमित फेला परेका छन् ।

जिल्लाको लुङ्ग्री गाउँपालिकाले १० शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ  र त्यस केन्द्रमा दुई थान अक्सिजन सिलिण्डरको पनि व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गा खड्काले जानकारी दिनुभयो । सो गाउँपालिकामा हालसम्म एक महिला र दुई पुरुषसहित तीन जना सङ्क्रमित फेला परेका पनि अध्यक्ष खड्काले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले उपलव्ध गराएको सूचनाअनुसार वैशाख २५ गतेसम्म जिल्लामा ४९ महिला र ९४ पुरुषसहित कुल १४३ जना कोरोनाका सक्रिय सङ्क्रमित फेला परेका छन् । तीमध्ये ११ जनालाई रोल्पा अस्पतालको आइसोलेसनमा राखिएको छ भने पाँच जना रोल्पा नगरपालिकाको आइसोलेसनमा राखिएको छ । बाँकी १२७ जना होम आइसोलेसनमा बसेका छन् । जिल्लामा सुनिल स्मृति गाउँपालिकाको सुलिचौर, रुन्टीगढी  गाउँपालिकाको होलेरी र त्रिवेणी गाउँपालिकाको निगालपानीमा हेल्थ डेस्क राखिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । 

सङ्क्रमित ठाउँबाट आउने जिल्लावासीलाई ‘कन्ट्रयाक ट्रेसिङ’ गरी विवरण राख्ने, ज्वरो नाप्ने तथा लक्षण देखिएकाको स्वाव  लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । स्थानीय तहको निगरानीमा उनीहरु होम क्वारेन्टिनमा बस्ने गरेका सापकोटाले जानकारी दिनुभयो । जिल्लामा १८ वटा एम्वुलेन्सलाई तयारी हालतमा राखिएको छ । जिल्लामा हालसम्म तीन जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

यसअघि गत वैशाख २२ गतेदेखि लागू हुने गरी रोल्पामा निषेधाज्ञा जारी गरिएको छ । सङ्क्रमण रोग नियन्त्रण ऐन, २०२० वमोजिम तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने गरी जिल्ला प्रशासन कार्यालयले १५ दिनका लागि जारी गरेको निषेधाज्ञाका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । यातायातका साधन तथा विद्यालय पूर्णरुपमा बन्द रहेका छन् भने औषधि पसल र खाद्यान्नका पसल विहान साँझ समय मिलाएर खोल्ने व्यवस्था गरिएको छ । सदरमुकाम लिवाङमा  मानिसको आवतजावतसमेत निकै पातलो देखिएको छ ।

रोल्पा अस्पतालले विगतदेखि सञ्चालन गर्दै आएको हेल्थ डेस्कलाई निरन्तरता दिएको छ । यसका साथै पाँच शय्या रहेको कोरोना आइसोलेसन केन्द्रलाई ११ शय्यामा विस्तार गरिएको रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले जानकारी दिनुभयो । अस्पतालसँग रहेको ५० सिलिण्डर अक्सिजनमध्ये केही खर्च भइसकेको छ । केन्द्र र प्रदेश सरकारसँग पनि थप अक्सिजन माग गरेको जानकारी पनि आचार्यले दिनुभयो । कोरोनाको महामारी विरुद्ध एकजुट भएर मुकाविला गर्नुपर्ने समयमा प्रदेश सरकारले रोल्पालाई राजनैतिक पूर्वाहग्रह राखेको आफूले छनक पाएको आचार्यको भनाइ छ । लुम्विनी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा किट पठाउँदा रोल्पा र गुल्मीलाई दिएन । “प्रदेश सरकारले रोल्पाप्रति राजनैतिकरुपमा पूर्वाग्रह गरेको जस्तो मलाई लागेको छ” आचार्यले भन्नुभयो ।

कोरोनाको पहिलो लहरमा जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिनको व्यवस्था गरिए पनि दोश्रो लहरमा भने क्वारेन्टिन निर्माण गरिएको छैन । विद्यालय र क्याम्पसमा बनाइएका क्वारेन्टिनका कारण आलोचना खेपेका स्थानीय तहले यसपटक भने विद्यालय र शिक्षण संस्थामा आइसोलेसनका लागि छनौट नगरेकोमा अभिभावकले सन्तोष व्यक्त गरेका छन् । क्वारेन्टिन र आइसोलेसनको रुपमा विद्यालयलाई प्रयोग गर्दा विद्यार्थीको पठनपाठनसमेतमा मनोवैज्ञानिक असर देखिएको बालकल्याण नमूना मावि लिवाङका विद्यालय  व्यवस्थापन समिति अध्यक्ष महेश न्यौपानेले बताउनुभयो । यसकुरालाई मध्यनजर गर्दै यस पटक विद्यालयमा आइसोलेसन नबनाउनु सकारात्मक पक्ष भएको न्यौपानेको भनाइ छ । 

जिल्लामा आइसियूको कमी तथा भेन्टिलेटर जस्तो महत्वपूर्ण स्वास्थ्य उपकरण नहुनु दुःखद रहेको रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वकुमार चन्दको भनाइ छ । रोल्पाबाट अन्य जिल्ला बिरामी लैजादा भौगोलिक विकटता र लामो दुरीका कारण पनि नागरिकमा जोखिम वढ्ने हुँदा सरकारले कम्तीमा पनि जिल्ला अस्पतालमा आइसियु र भेन्टीलेटरको सेवा उपलव्ध गराउनुपर्ने उहाँको माग छ । 

जिल्लामा स्वास्थ्य जाँचको दायरा नबढाएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिए पनि यो सङ्ख्याभन्दा पनि बढी समूदायका नागरिक सङ्क्रमित हुनसक्ने भन्दै परीक्षणको दायरा बढाउन सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले वताउनुभयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र रोल्पाकोे वैठकले जिल्लामा स्वास्थ्य जाँचका लागि आवश्यक एन्टिजेन किट अभाव रहेका कारण सङ्क्रमित पहिल्याउन कठिनाई भइरहेको र यसको व्यवस्थाका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग आग्रह गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!