वीर अस्पतालले माग्यो १ सय ३ कर्मचारी, कसरी दिने आवेदन ?

Posted on: 06 May, 2021

वैशाख २३, काठमाण्डौं । मुलुककै जेठो वीर अस्पतालले एक सय जना जना स्टार्फ नर्स र तीन जना चिकित्सक सेवा करारमा पदपूर्ति गर्ने भएको छ ।

देशमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा जटिल लक्षण सहित संक्रमितको चाप बढेको भन्दै अस्पतालले त्यस्ता संक्रमितको उपचार र हेरचाहका लागि ६ महिनाका लागि पदपूर्ति गरिने जनाएको हो ।

अस्पतालकी निमित्त निर्देशक डा. शान्ता कुमारी (कँडेल) सापकोटाले बुधबार ६ महिनाका लागि करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको बताइन् । नवौँ तहमा ३ जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट  र पाँचौ तहमा १०० जना स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरिएको उनको भनाई छ ।

चिकित्सकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा एमडि उत्तिर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने र स्टार्फ नर्सका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रमाणपत्र उत्तिर्ण गरी नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएको हुनुपर्ने योग्यता तोकिएको छ । आईसीयू र एचडियूमा अनुभव प्राप्तलाई प्राथमिकता दिइने जनाइएको छ ।

इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन सक्ने निमित्त निर्देशक सापकोटाको भनाई छ । नेपाल सरकारले तोकेको प्रचलित स्केल बमोजिम तलव पाइने र सुरु स्केलमा ५० प्रतिशत थप हुने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!