गौर भन्सारको लक्ष्यभन्दा राजश्व कमी

Posted on: 29 Jan, 2018

माघ १५, रौतहट । गौर भन्सारले लक्ष्यभन्दा धेरै कम राजश्व चुहावट गरेको छ । आव २०७४÷७५ का लागि वार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक तथ्यांकअनुसार रु पाँच करोड २२ लाख मात्र राजश्व संकलन गरेको छ । 

यस अवधिमा सात करोड ८० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको भएपनि करिब दुई करोड ५८ लाख कम राजश्व संकलन भएको छ । यति धेरै कम राजश्व संकलन हुनुमा भन्सार कार्यालयका कर्मचारी नै दोषी देखिएको सरोकारवालाले बताएका छन् । 

जिल्लाको लक्ष्मीपुर बेलबिछुअवा, महादेबपट्टी र गौर भन्सारको मुख्य नाका, औरैया, बन्जहरा, रमपुर्वालगायतका नाकामा कार्यालयका कर्मचारीबाट नै आफ्नो एजेन्टमार्फत अवैध रकम असुली गर्दै तस्करलाई लाइन दिने गरेको उनीहरुको भनाइ छ । 

बंकुल छोटी भन्सारमा नायब सुब्बाको दरबन्दी भएपनि कार्यालय सहायक मात्रै राखेको कारण राजस्व उठ्न नसकेको बौदीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुशहवाले बताउनुभयो । भन्सार नाकामा निम्न तहको कर्मचारी राखिँदा भन्सार असुलीमा समस्या आएको व्यापारी लक्ष्मी साहको पनि भनाइ छ । 

सीमा क्षेत्रबाट अवैध रुपमा स्पेयर पार्ट, कपडा, खाद्यान्न पदार्थ, रेडबुल, कुखुराको चल्ला, सिमेन्ट, खानेतेल, चिनी लगायतका सामान भित्रँदै आएका छन् । 

गत आवमा विभिन्न मधेशवादी दलको मधेश आन्दोलनको बाबजुद पनि तोकिएको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व संकलन भएको थियो । 

प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले तराईमा रहेको शीतलहर तथा भारतमा जिएचटी कर लालू गरिएको कारणले व्यापारीहरु आउन नसक्दा भन्सार बढ्न नसकेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!