भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता

Posted on: 30 Sep, 2020

असोज १४, रामेछाप । नगरलाई दूधमा आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदै छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो । 

नगरपालिकाले कार्यविधि नै बनाएर चालु आर्थिक वर्षमा ६०  भैंसी धनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी गरेको छ । नगरपालिकाले ३० दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आग्रह गर्दै सूचना जारी गरेको छ । 

मापदण्ड नपुगेका, म्यादपछि प्राप्त भएका र बढीमा तीन माउ भैँसीभन्दा बढी सङ्ख्यामा प्राप्त भएका प्रस्तावलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्थली नगरपालिका, पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताउनुभयो । 

उहाँका अनुसार भैँसीको सुत्केरी भत्ता प्राप्त गर्न भैंसी सुत्केरी भएको निवेदन, वडा कार्यालयको सिफारिस, सम्बन्धित भँैसीधनी कृषकको नागरिकता, मान्यताप्राप्त पशु बीमा कम्पनीबाट भैँसी बीमा गराएको पोलिसीको प्रतिलिपि आवश्यक पर्छ ।

 नगरपालिकाका उपप्रमुख मायाकुमारी कार्कीले कृषकलाई प्रोत्साहनस्वरुप भैँसीलाई सुत्केरी भत्ता वितरणको काम अगाडि बढाइएको बताउनुभयो । मापदण्ड पूरा गरेर आउने कृषकलाई रु तीन हजार भैँसी सुत्केरी भत्ता उपलब्ध गराइन्छ । गत वर्षदेखि सुत्केरी भत्ता वितरणको काम अगाडि बढाएको नगरपालिकाले प्रोत्साहनभत्ता वितरणको कामलाई निरन्तरता दिने जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!