राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

Posted on: 08 Feb, 2023

माघ २५, भोजपुर | राष्ट्रपति विद्यादेवी भण्डारी आज गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ । 

साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो । 

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्नुहुनेछ । साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चना गर्नुहुने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकनसमेत गर्नुहुनेछ । विसं १९२४ मा भोजपुरमा जन्मिनुभएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका–१ मझुवाबँेसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण गर्नाका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको नगरप्रमुख सुरेन्द्र उदासले जानकारी दिनुभयो । 

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्नुहुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!