प्रत्यक्षमा कांग्रेसभन्दा ११ सिटले पछि एमाले समानुपातिकमा लाखभन्दा बढी मतले अगाडि

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ । प्रतिनिधिसभा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ नेकपा एमालेभन्दा अघि (पहिलो नम्बरमा) रहेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने एमालेभन्दा पछि अर्थात् दोस्रो स्थानमा छ। 

प्रत्यक्षतर्फ अहिलेसम्म ५३ सिटका साथ कांग्रेस पहिलो नम्बरमा छ भने ४२ सिट जित्दै एमाले दोस्रो स्थानमा छ। अझै ७ क्षेत्रको नजिता आउन बाँकी छ।  


समानुपातिकतर्फ भने नेकपा एमाले कांग्रेसभन्दा अघि अर्थात् प्रथम स्थानमा छ। 

पछिल्लो मत परिणामसम्म कांग्रेसभन्दा एमाले १ लाख ३४ हजार ४ सय ८३ मतले अगाडि छ। एमालेले अहिलेसम्म २५ लाख ४१ हजार २ सय १४ मत ल्याएको छ भने कांग्रेसले २४ लाख ४ हजार ६ सय ७७ मत पाएको छ। 

निर्वाचन आयोगले अहिलेसम्म ९३ लाख ३६ हजार ९ सय ५४ मत गनिसकिएको जानकारी दिएको छ।  

यति संख्यामा समानुपातिक मत गनिसक्दा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले  १० लाख ७१ हजार ४ सय १७ मत प्राप्त गरेको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो खबर तयार पार्दासम्म १० लाख ६४ हजार ४ सय ३९ मत ल्याएको छ। 

समानुपातिकमा पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ९ सय ८६ तथा छैटौँ स्थानमा जनता समाजवादी पार्टीले ३ लाख ३० हजार ३ सय ८५ मत ल्याएको छ। अहिलेसम्म यी ६ दलले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ। बाँकी दलले थ्रेसहोल्ड (३ लाख २० हजार समानुपातिक मत) कटाउन सकेका छैनन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!