समानुपातिकतर्फ क्रमश: एमाले, कांग्रेस, माओवादी र रास्वपा, कुन दलको कति मत ?

Posted on: 26 Nov, 2022

मङ्सिर १० काठमाडौँ | निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७८ लाख ५५ हजार ५६८ मतगणना गरेको छ । आयोगबाट बेलुकी ९:०० बजे सम्म उपलब्ध विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो । 

समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । त्यसमा सबैभन्दा बढी नेकपा(एमाले)ले २१ लाख ६५ हजार ६३२ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख ८२ हजार ५ सय मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले ९ लाख १८ हजार ५२६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ८४ हजार ७५० मत प्राप्त गरेको छ । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ६७ हजार एक सय ४५ मत, जनता समाजवादी पार्टीले दुई लाख ५४ हजार चार सय २३ मत, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ९८ हजार २२४ मत प्राप्त गरेका छन् । 

यही मङ्सिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कूल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो । निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!