प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको परेपछि...

Posted on: 22 Nov, 2022

मङ्सिर ६, नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं १ स्थित ककनी गाँउपालिका वडा नं ५ का एकसय जना मतदातालाई समानुपातिकतर्फ प्रदेशसभाको सट्टामा प्रतिनिधिसभाकै मतपत्र दिएको पाइएको छ ।

जारी रहेको मत गणनाका क्रममा ककनी–५ मा स्थित जाल्पादेवी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका एकसय जना मतदाताले समानुपातिकतर्फ प्रदेशसभाको सट्टामा प्रतिनिधिसभाकै मतपत्रमा मतदान गरेको पाइएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदान अधिकृतले हस्ताक्षर गरेको मतपत्र मतदातालाई दिन बसेका कर्मचारीको त्रुटिका कारण एक सय मतदाताले समानुपातिकतर्फ प्रतिनिधिसभाको मतपत्रमा नै दोहोर्याएर मतदान गरेको पुष्टि भएसँगै ती मतपत्र बदर गरिएको छ ।

“जुन मतपत्र जुन पेटिकामा परेको भए पनि गणना गर्ने निर्वाचन आयोगको निर्देशन भए पनि प्रदेशसभाको मतपेटिकामा फेला परेका प्रतिनिधिसभाको समानुपातिक प्रणालीको एकसय मतपत्र बदर गरिएको छ”, निर्वाचन अधिकृत भुसालले भन्नुभयो, “मतदाताले एक मतपत्रमा एक पटक मात्रै मतदान गर्ने अवसर पाउने हो । तर, यहाँ त प्रदेशसभाको मतपत्रको सट्टामा प्रतिनिधिसभा कै मतपत्रमा दोहो¥याएर मतदान गरेको पाइएकाले प्रदेशसभाको मतपेटिकामा भेटिएका एकसय मतपत्र स्वतः बदर हुने निर्णय निर्वाचन आयोगसँगको परामर्शमा गरेका छौँ ।”

ककनी गाँउपालिकामा कूल खसेको ११ हजार छ सय ८४ मतको गणनाको क्रममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच सय १९ मत बदर भएको छ भने प्रतिनिधिसभाको समानुपातिक र प्रदेशसभातर्फको दुवै निर्वाचन प्रणालीको मतगणना अहिले पनि जारी छ । त्यसक्रममा बदर मतको सङ्ख्या अपेक्षाभन्दा धेरै पाइएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!