सप्तरी मतगणना जारी: दुई क्षेत्रमा कांग्रेस, जनमत र जसपाको एक÷एक क्षेत्रमा अग्रता

Posted on: 22 Nov, 2022

मङ्सिर ६, सप्तरी । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ । 

सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अग्रतालाई अझै फराकिलो बनाएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा जारी क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले १० हजार सात सय मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार हजार नौ सय ९० मत प्राप्त गर्नुभएको छ । यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले एक हजार नौ सय ६१ मत ल्याएर तेस्रोमा हुनुहुन्छ । 

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) मा जनमत पार्टीका सतिश सिंहले पनि अग्रतालाई बढाउँदै लगेको छ । उहाँले १० हजार आठ सय ३२ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले पाँच हजार दुई सय आठ मत प्राप्त गर्नुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले चार हजार एक सय ७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । 

प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीकै महेश यादवले नौ हजार सात सय ६१ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेश कुमार यादवले पाँच हजार दुई सय ७८ र जसपाका लक्ष्मण यादवले चार हजार दुई सय ३१ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत राउतले बताउनुभयो । 

कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा जारी क्षेत्र नम्बर १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका नवलकिशोर साहले दुई हजार छ सय २७ मतका साथ अग्रता लिनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रामदेव साहका रामदेव साहले दुई हजार तीन सय ८९ मतका साथ पच्छयाई रहनुभएको छ भने जनमत पार्टीका जयकान्त राउतले एक हजार सात सय ७५ मत का ल्याएर तेस्रोमा हुनुहुन्छ । 

क्षेत्र नम्बर ३ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दिनेशकुमार यादवले तीन हजार २७ मतका साथ अग्रता लिनुभएको छ भने नेकपा एमालेका ताराकान्त चौधरीले एक हजार आठ सय ९७ मत ल्याएर दोस्रो स्थान रहँदा जनमत पार्टीका अनिश अन्सारीले एक हजार चार सय ५० मत प्राप्त गरी तेस्रोमा हुनुहुन्छ ।  

क्षेत्र नम्बर ४ मा पनि कांग्रेसका तेजुलाल चौधरीले एक हजार ४९ मतका साथ अग्रता लिनुभएको भने जसपाका बालकिशोर यादवले पाँच सय ६२ मत ल्याएर उहाँलाई पच्छयाई रहनुभएको छ । जनमत पार्टीका सुकदेव साहले पाँच सय मत ल्याएर तेश्रो हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!