आसन्न निर्वाचन : मकवानपुर क्षेत्र नं २ मा दुई पक्षीय प्रतिस्पर्धा

Posted on: 13 Nov, 2022

कात्तिक २७, मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभासदस्य निर्वाचनको प्रचारप्रसारका लागि पाँच दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले), राप्रपा, नेपाली कांग्रेस (बिपी) र नेपाल मजदुर किसान पार्टीलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका छन् । उनीहरूले घोषणापत्रसहित प्रतिबद्धताहरू मतदाताकाबीच पु¥याउँदै आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिहेका छन् । 

मकवानपुरको क्षेत्र नं २ मा सत्ता गठबन्धनकातर्फ नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव विरोध खतिवडा र एमालेका तर्फबाट मेहश बर्तौलाबीच दुई पक्षीय प्रतिस्पर्धामा हुने देखिएको छ । यसैगरी, राप्रपाकातर्फबाट राजन मैनाली, कांग्रेस (बिपी) को भरत पराजुली, नेपाल मजदुर किसान पार्टीका तर्फबाट रत्नप्रसाद प्रजापति मतदाता समक्ष पुगिरहनुभएको छ ।

यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नं २ (१) प्रदेश सभातर्फ सत्ता गठबन्धनकातर्फबाट कुमारी मोक्तान र २ (२) बाट इन्द्रबहादुर बानियाँ तथा एमालेका तर्फबाट २ (१) बाट विष्णुप्रसाद ढकाल र २ (२) बाट लालबहादुर थापाबीच प्रतिस्पर्धामा रहनुभएको छ । जिल्लाको क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ जना मतदाता रहेका छन् । जसमध्ये पुरुषतर्फ ७८ हजार पाँच सय ९८, महिलातर्फ ७१ हजार नौ सय ७९ र तेस्रोलिङ्गी एकजना रहेको बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर क्षेत्र नं २ मा एक सय ९२ वटा मतदान केन्द्र तोकिएको सो कार्यालयले जनाएको छ । मकवानपुरको क्षेत्र नं २ मा थाहा नगरपालिका, मनहरी, भीमफेदी, कैलाश, राक्सिराङ, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिकाको आधा भाग र हेटौँडा उपमहानगरपालिकाको वडा नं १, ३, ११ र १९ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको क्षेत्र नं २ को प्रतिनिधिसभामा १० र प्रदेशसभामा १९ जना गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारले घरदैलोमा पुगेर मतदातालाई आगामी दिनमा दुर्गम भेगका मतदातालाई पिउने पानी, स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको अवसर दिलाउने, कृषि उत्पादनलाई बजारसम्म पु¥याउनेजस्ता प्रतिबद्धता जनाएका छन् । विगतको अवस्थालाई विश्लेषण गरेर यो निर्वाचनमा उम्मेदवारको इमान्दारिता र दीर्घ राजनीतिलाई मात्र हरेर मतदान गर्नुपर्ने अवस्था आएको मकवानपुरगढी वडा नं ४ निवासी भरतप्रसाद पुडासैनीले प्रतिक्रिया दिनुभयो ।

क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडा तत्कालीन एमालेकातर्फबाट विसं २०४८, २०५१, २०५६ र २०७४ मा गरी चार पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भइसक्नु भएको छ । उहाँ एक वर्षअघि समाजवादीका तर्फबाट जनसङ्ख्यामन्त्री समेत भइसक्नुभएको छ । मकवानपुरमा क्षेत्र नं १ बाट २०५१ सालमा राप्रपाका तर्फबाट कमल थापा निर्वाचित हुनुभएको थियो । 

यसैगरी, विसं २०७० मा कांग्रेसकातर्फबाट समानुपातिक उम्मेदवार हुनुभएकी कांग्रेसका सह–महामन्त्री महालक्ष्मी उपाध्याय मन्त्री भइसक्नुभएको छ । उहाँ मकवानपुर क्षेत्र नं १ बाट २०७० सालमा संविधानसभाको सदस्य पदमा निर्वाचित हुनुभई २०७३ सालमा नागरिक उड्डयन तथा संस्कृति राज्यमन्त्री र गृह राज्यमन्त्री भइसक्नुभएको छ ।

मकवानपुरमा कूल मतदाता सङ्ख्या तीन लाख सात सय ५८ मतदाता सङ्ख्या रहेको र तेस्रोलिङ्गी समूहका पाँचजना रहेको २ नं क्षेत्रका निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले जानकरी दिनुभयो । मकवानपुरको क्षेत्र नं १ मा एक सय ७२ र २ मा एक सय ९२ वटा गरी तीन सय ६४ वटा मतदान केन्द्रहरू रहेका छन् । यसैगरी, जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्रहरु तोकिएको छ । जसमा कैदीबन्दीका लागि भीमफेदी कारागार र निजामती कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोग बागमती प्रदेशको कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!